NST 08:42:30am Sat, Oct, 21, 2017

बिदेश जाने क्रममा ठगिएका १२ यूवाले पाए क्षतिपूर्ति

दुई वर्षको अवधिमा मेनपावर कम्पनी र एजेण्टको ठगीमा परी बिभिन्न देशमा पुगेर स्वदेश फिर्ता भएका जिल्लाका १० तथा सुनसरी र गोरखाका एक÷एक यूवाले क्षतिपूर्ति पाएको सुरक्षित आप्रवासन परियोजना सुचना केन्द्र खोटाङले जनाएको छ ।

सुचना केन्द्रका अनुसार बैदेशिक रोजगारीका सिलसिलामा ठगीमा परी ओमन पुगेर फर्किएका रतन्छा – ६ का प्रकाश राई,  मलेसिया पुगेका बुईपा–६ का सागर राई, नेर्पा–४ का तोयानाथ बास्तोला, दिक्तेल–३ का राजकुमार पाण्डे, टेम्मा–९ का प्रदीप खत्री, डाँडागाउँका अस्विन सिँग्देलले क्षतिपूर्ति पाउनुभएको हो ।

यस्तै कतार पुगेर फिर्ता भएका नुनथला–९ का हर्क तामाङ, बाक्सिला–५ का नवराज तामाङ, नुनथला–९ का ताराकुमार तामाङ, बाक्सिला–५ का मित्रकुमार तामाङले क्षतिपूर्ति लिएको सुचना केन्द्रका निमित्त कार्यक्रम संयोजक लोकमणी रिजालले जानकारी दिनुभयो ।

अलपत्र अवस्थाबाट उद्दार गरेर स्वदेश फर्काइएका उनीहरुले निशुल्क कानूनी सहायता प्रदान गर्दै आएको पिपुल्स फोरमको कानूनी परामर्श र सहयोगमा मेनपावर कम्पनी तथा एजेन्टबाट क्षतिपूर्ति लिएका हुन् ।

खोटाङका १० जनासहित मलेसिया पुगेर फर्किएका सुनसरी झुम्काका राजन खत्री र कतारबाट फर्किएका गोरखा मनोकामना–१ का सन्तोष परियारले पनि क्षतिपूर्ति लिनु भएको छ । ठगिएका युवाले प्रतिव्यक्ती ४५ हजारदेखि ८० हजार रुपैयाँसम्मका दरले कुल १० लाख ६७ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् ।

ठगीमा परी खाडी मुलुक पुगेर अलपत्र परेको अवस्थामा उनीहरुलाई सुचना केन्द्रको पहलमा स्वदेश फर्काइएको थियो । १४ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा परियोजनाले शुक्रबार सदरमुकाम दिक्तेलमा समिक्षात्मक कार्यक्रम गरी दुई वर्षको अवधिमा ठगीका ३८ वटा मुद्दा दर्ता भएकोमा परियोजनाले १२ वटा मुद्दाका पीडितलाई क्षतिपूर्ति दिलाएको जनाएको छ ।

खोटाङका आठ मृतक परिवारले पनि पाए क्षतिपूर्ति

२०६८ साल असोज यता बिभिन्न देशमा ज्यान गुमाएका खोटाङका ८ मृतक परिवारले पनि क्षतीपुर्ती पाएको परियोजनाले जनाएको छ । साउदीअरबमा ज्यान गुमाएका नेर्पा–८ मनबहादुर कामी, सप्तेश्वर–७ का जीवन राई, अर्खौले–१ का नरबहादुर पुरी, बाँझेच्यानडाँडा–५ का खड्गबहादुर गुरुङ, खार्मी–९ का रामनाथ राई, मलेसियामा ज्यान गुमाएका खिदिमा–६ का सिंहराज राई, राजापानी–७ का कमलकुमार राई तथा कतारमा ज्यान गुमाएका बाँझेच्यानडाँडा–२ का दिलीप भुजेलको परिवारले क्षतिपूर्ति लिएको परियोजनाका खोटाङ संयोजक भक्त राईले जानकारी दिनुभयो ।

उनीहरुले बैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट १ लाख ५० हजार तथा बीमा कम्पनीबाट बाँकी रकम गरी प्रतिपरिवार कम्तीमा ६ लाख ५० हजारदेखि ८ लाखसम्म क्षतिपूर्ति पाएका छन् । यस्तै यस अवधिमा जिल्लाका ११ जनाको उद्धार तथा गैर–कानूनीरुपमा काम गर्दै आएका जिल्लाका पाँच यूवालाई वैधानिकता प्रदान गर्न सहयोग पुर्‍याएको परियोजनाले जनाएको छ । दुई वर्षको अवधिमा अलपत्र, ठगी, मृत्युलगायतका प्रकृतिका १०७ वटा मुद्दा दर्ता भएको छ ।

- Source : Ujyaalo Unline