NST 05:51:43am Wed, Sep, 20, 2017

'समस्यामा परेका कामदारको क्षतिपूर्ति दिलाउँदा म कसरी ठग भएँ ?’ आशा लामा

मंगलवार, २०७३ फाल्गुन १६ गते ०५:५८

 

 

रोजगार मञ्च । युएईका लागि नेपाली राजदूतमा सिफारिसमा परेकी आशा लामाले वैदेशिक रोजगारमा गएका पीडित तथा समस्यामा परेका कामदारको उद्धार तथा उनीहरुलाई क्षतिपूर्ति दिलाउने कार्य गरिरहेको बताएकी छिन् । 
 
पछिल्लो समय केही संचार माध्यमले उनी विरुद्धका समाचार बाहिर ल्याइरहँदा उनले भनिन्–‘वैदेशिक रोजगारमा समस्यामा परेका कामदारको उद्धार र क्षतिपूर्ति दिलाउँदा म कसरी ठग भएँ ?’  आशा फाउण्डेशन मार्फत विदेशमा रहेका नेपालीहरुको उद्धार तथा क्षतिपूर्ति दिलाउने कार्य गरिरहेको तर मेनपावर व्यवसायबाट अलग भइसकेको उनले बताइन् । 
 
राजदूत सिफारिसमा परेपछि पहिलो पटक सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामाले भनिन्–‘ मेरो बारेमा गलत तरिकाले समाचारहरु आए, यी सबै मेरो चरित्र हत्या गर्नेगरि आएका छन्, ती असत्य र भ्रामक समाचारहरुको म आज खण्डन गर्न चाहन्छु, आजसम्म मैले कसैलाई बिगारेको छैन् ।’ 
 
सरकारले योग्य, अनुभवी, क्षमता देखेर आफूलाई राजदुतमा सिफारिश गरेकोले उक्त निर्णयबाट आफ्नो पार्टी नेतृत्व र सरकार पछि नहट्नेमा आफू विश्वस्त रहेको बताएकी छिन् ।
 
उनले देशको लागि केही गर्ने भनेर ठूलो सपना देखेकोले अन्तिमसम्म पनि देश र जनताको लागि र विदेशमा रहेका नेपालीहरुको हकअधिकारको लागि लडिरहने जीकिर गरिन् ।
 
उनले भनिन्–‘मैले देश र जनताको हित विपरित कुनैपनि त्यस्तो काम गरेको छैन, मैले आप्रावासी नेपाली महिलाहरुको हकहितको लागि काम गरेको छु, विगत ६ वर्षदेखि युएईमा काम गरिरहेको छु, त्यहाँका नेपालीहरुको पीडा मलाई राम्रोसँग थाहा छ, उनीहरुको समस्या समाधान गर्नको लागि म जेलमा पुगेको छु, हरेक नेपालीहरुले काम गर्ने कम्पनीदेखि घरसम्म पुगेको छु।’
 
उनले पछिल्लो समय आफूले महिला हिंसा विरुद्धको अभियानको नेतृत्व गरिरहेको जानकारी दिदै भनिन्–‘नेपालमा मात्रै नभएर विदेशमा समेत मैले आवाज बुलन्द गरेको छु, नारीमाथि भएको अन्याय, अत्याचार र शोषणविरुद्ध आशा फाउण्डेशन नेपाल संस्थाबाट लडिरहेकी छु ।’
उनले दुवईमा बसेर नेपाललाई चिनाउने धेरै कार्य गरिरहेको जानकारी दिदै भनिन्–‘ सरकारले मेरो योग्यता, क्षमता हेरेर मलाई जुन किसिमको जिम्मेवारी दिने निर्णय गरेको छ, यसले मलाई निकै खुशी तुल्याएको छ, यसको लागि पूर्ण रुपमा सक्षम र  योग्य छु ।’
 
लामाले आफ्नो परिवारको रगत–रगतमा काँग्रेस रहेकोले जिकिर गर्दै भनिन्,‘मेरा पुर्खाहरुपनि काँग्रेस नै हुन्, मलाई जनमोर्चा भनियो तर मैले पाँच नम्बर क्षेत्रमा काँग्रेसका उम्मेद्धवार नरहरी आचार्यलाई भोट हालेकी हुँ ।’ 
 
उनले सरकारले विभिन्न मुलुकमा राजदुत नियुक्ती गर्दैछ भनेर थाहा पाएपछि परराष्ट्रमन्त्रालयमा पुगेर आफ्नो बायोडाटा बुझाएको बताइन् । उनले भनिन्, ‘म नेपाली कांग्रेसको कार्यकर्ता हुँ, राजदूतका लागि म जत्तिको उपर्युक्त व्यक्ति कोही पनि छैन।’ 
 
राजदुत भएपछि आफूले वैदेशिक रोजगारीमा हाल रहेका समस्याहरुलाई समाधान गर्न समेत पहलकदमी लिने विश्वास दिलाइन्। उनले भनिन्,‘मैले फाउण्डेशनमार्फत विदेशमा अलपत्र परेका धेरै नेपालीहरुलाई उद्धार गरेकी छु ।’ आफ्नो नागरिकताका विषयमा उठाइएको प्रश्नमा लामाले भनिन्,‘मैले आम नेपाली नागरिक सरह नागरिकता लिएको हुँ ।’


 
वैदेशिक रोजगार व्यवसायमा आफ्नो संलग्नता सन् २०१० सम्म मात्रै रहेको बताएकी लामाले भनिन्, ‘वैदेशिक रोजगारीमा म अहिले संलग्न छैन ।’ 
 
लामाको पहलद्धारा विदेशमा मृत्यु भएको छोराको क्षतिपूर्ति रकम प्राप्त गरेका धनकुटाका धनञ्जय चापाँगाईले भने,‘मेरो छोरो वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै स्वर्गवास भयो, यस बारेमा मैले सम्बन्धित निकायलाई पटक पटक अनुरोध गर्दापनि कुनै सुनुवाई भएको थिएन, तर आशा लामाले क्षतिपूर्ति वापत ५८ लाख रुपैयाँ दिलाउनुभयो, उहाँ हाम्रो परिवारका लागि भगवान सरह हो ।’
 
लामा अत्यन्तै ठूलो समाजसेवी भएको बताउँदै चापागाईले भने,‘उहाँले म जस्ता धेरै पीडितहरुलाई उद्धार गर्नुभएको छ, उहाँ ठूलो समाजसेवी हो ।’

- See more at: http://www.rojgarmanch.com/index.php?action=news&id=2296#sthash.pmf7CdxW.dpuf