+977-1- 4480858
NST
Latest News
See All       Previous         Next

विदेशमा पीडित भएकाले क्षतिपूर्ति सजिलै पाउनुपर्छ

काठमाडौं, जेठ ११ – वैदेशिक रोजगारीका क्रममा अंगभंग वा स्वास्थ्य समस्या भएका पीडित कामदारले पाउने क्षतिपूर्ति लिन समस्या भएको भन्दै तत्काल सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) र सुरक्षित आप्रवासन परियोजना (सामी) हेल्भेटास स्वीस इन्टरकोअपरेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवाला संघसंस्थाका प्रतिनिधिले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै लयर्स वियोण्ड बोडर्स नेपालका संयोजक विष्णु खत्रीले बिमासित कामदारको विश्वास घट्दै गएकाले पीडित कामदार न्याय खोज्न नजाने क्रम बढीरहेको बताउनुभयो । अहिलेको प्रक्रिया धेरै प्राविधिक भएकाले पीडित थप समस्यामा परेको उहाँको भनाई छ । 

क्षतिपूर्ति लिन समस्या भएका ठाँउमा तत्काल सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘ऐन संशोधन हुँदासम्म कुर्न सकिने अवस्था छैन् । भवितव्यमा परेका पीडितले भोलीदेखि नै सहज रुपमा क्षतिपूर्ति वापतको रकम पाउने वातावरण बनाउनुपर्छ ।’

एम्नेष्टी इन्टरनेसनल नेपालका निर्देशक रामेश्वर नेपालले क्षतिपूर्ति दिने प्रक्रियालाई सरलीकरण गर्ने काम तत्काल सुरु गरिहाल्नु पर्ने बताउनुभयो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, बीमा कम्पनीलगायतबाट क्षतिपूर्तिवापत पैसा पाइन्छ भन्ने धेरै पीडितलाई जानकारी नभएको उहाँले बताउनुभयो । पीडितसम्म जानकारी पुग्ने हिसावले तत्कालै काम गरिनुपर्ने उहाँको भनाई छ । 

सुरक्षित आप्रवासन परियोजना (सामी)की टिम लिडर सीता घिमिरेले नीति नियम र व्यवहार फरक रहेको औंल्याउनुभयो । नीति कार्यान्वयन गर्नेहरु इमान्दार भए पीडितलाई क्षतिपूर्ति लिन सजिलो हुने उहाँले बताउनुभयो । अहिले भएका कानून पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने र चाँडै नीति परिवर्तन गर्नुपर्ने घिमिरेको सुझाव छ । 

सरकारी अधिकारी भन्छन्, नियमानुसार काम भइरहेको छ 

कार्यक्रममा बोल्दै श्रम तथा रोजगार मन्त्रालयको कानुन शाखाका प्रमुख अर्जुनप्रसाद खनालले नियम अनुसार काम भइरहेको बताउनुभयो । विशेषज्ञ समितिका सदस्य सचिव समेत रहेका खनालले कतिपय निर्देशिकामा उल्लेख नभएका र क्षतिपूर्ति दावी गर्ने समय कटेका पीडितलाई पनि क्षतिपूर्ति वापतको रकम दिइएको जानकारी दिनुभयो । 

तत्काल देखिएका समस्या निर्देशिकामार्फत समाधान गर्न सकिने खनालले बताउनुभयो । निर्देशिका र ऐन नियमावली संसोधन गरेर पीडितलाई सहयोग गर्न सकिने विषय छुट्याउनु पर्ने उहाँले बताउनुभयो । 

त्यस्तै, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक बद्रिकुमार कार्कीले ऐनले गरेको व्यवस्था भन्दा बाहिर गएर काम गर्न नसकिने बताउनुभयो । प्रक्रिया पुगेका मुद्दा तत्कालै फर्स्यौट भइरहको पनि उहाँले जानकारी दिनुभयो । ऐनमा भएको व्यवस्था अनुसार सेवाग्राहीलाई मर्का परिरहेकाले ऐन संसोधन गर्न लागिएको उहाँको भनाई छ । 

न्याय दिन नखोजिएको देखियो 

पिपुल फोरमका अधिवक्ता कृष्ण प्रसाद न्यौपानेले न्याय दिन गठन भएको निकाय सिंहदरबार भित्र हुँदा पीडितलाई अप्ठेरो परिरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘उजुरी सुन्नेहरु सिंहदरबार भित्र बसेर न्याय दिन नखोजिएको देखियो । सिंहदरबारभित्र रहेको विशेषज्ञ समितिको सचिवालय बाहिर सार्नुपर्छ । वा उजुरी सुन्ने अधिकारीसहित पीडितले सजिलै प्रवेश पाउने ठाँउमा कार्यालय स्थापना गर्नुपर्छ ।’ 

वैदेशिक रोजगारीका क्रममा मृत्यु वा अंगभंग भएकाले बिमावापत बढिमा १० लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन् । त्यस्तै, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढिमा तीन लाख क्षतिपूर्ति दिँदै आएको छ । बोर्डले दिने क्षतिपूर्ति रकम बढाएर पाँच लाख रुपैयाँ बनाउने तयारी भइरहेको छ ।