+977-1- 4480858
NST
Latest News
See All       Previous         Next

अनाहकमा ७ महिना जेल http://bit.ly/1p6Xj01

फाल्गुन २६, २०७२- ‘दु:खसुख गरेर प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरें तर आर्थिक अवस्था कमजोर भएकाले त्यत्तिमै पढाईलाई रोक्नुपर्‍यो । अनि घर-परिवारखर्च टार्न गाउँ-गाउँमा बायोग्यास, सोलार प्लान्ट राख्ने काम पनि गरें, तर त्यहाँबाट हुने कमाईले खासै उपलब्धी नभएपछि राम्रै हुने सोचेर यता आएको थिएँ, तर नसोचेको भयो ।’
 
धन कमाउने र छिट्टै फर्कने परिवारसामू बाचा गरेर दुईवर्षअघि मलेसिया आएका भार्ते-९ लमजुङका ३८ वर्षीय कमलप्रसाद अधिकारी अनाहकमा ७ महिनाको जेल बसाईबाट मुक्त भएपछि मंगलबार आफ्नो कहानी सुनाउँदै थिए ।

सुबाङजयाको एक सुपरमार्केटमा काम गर्ने कमलमाथि सहकर्मी एक स्थानीय महिलाले ‘आफुमाथि ‘दुर्व्यवहार’ गरेको आरोपसहित प्रहरीमा उजुरी गरेपछि उनी गतवर्ष अगष्ट १२ मा पक्राउ परेका थिए ।
 
‘त्यसदिन (अगष्ट १०, २०१५) म काम गरिरहेको बेला कामकै विषयलाई लिएरसँगै काम गर्ने (जुनियर कर्मचारी) महिला साथीसँग सामान्य भनाभन भएको थियो । दुईदिनपछि मलाई खोज्दै सादा पोशाकमा प्रहरी सुपरमार्केटमै आइपुगे,’ अधिकारीले घटना सम्झिँदै सुनाएऽ ‘कुरा बुझ्दै जाँदा नराम्रो उद्देश्यले उनको शरिरमा छोएको ममाथि आरोपसहित प्रहरीकहाँ रिपोर्ट गरेकी रहेछिन् । त्यसैदिन मलाई पक्राउ गरियो ।’

कमलका अनुसार ती महिलाले सामान निकाल्न/मिलाउन अह्राउने र काममा उनलाई बढी पेल्ने गर्थिन् । ‘कहिले यो सामान झिक्दे भन्ने, कहिले त्यो सामान । म हैरान भइसकेको थिएँ,’ उनले भने, ‘हद भइसकेपछि उसले भनेअनुसार नै सामान झिकिदिएर हिँड्नलाग्दा बाटो साँगुरो भएकाले मेरो शरिरले उसलाई छोएछ क्यारे, मलाई थाहा पनि भएन । निहुँ त्यत्ति नै हो रहेछ ।’
 
पक्राउ परेपछि स्रेम्बान र सुंगाईबुलोको जेलमा ७ महिना बिताएको र प्रवासी नेपाली समन्वय समिती (पिएनसिसि) को सहयोगमा आफू जेलमुक्त भएको उनले बताए । पिएनसिसिका मलेसिया प्रतिनिधि रामचन्द्र नेपालले नि:शुल्क वकिलको व्यवस्था गरि  कमलको जेलमुक्त गर्न सम्भव भएको बताए ।

‘उहाँ जेल पर्नुभएको खबर पायौं, पछि उहाँमाथि लागेको अभियोग र घटनाबारे बुझेर निःशुल्क वकिलको व्यवस्था गर्‍यौं । उहाँ जेलमुक्त हुन सफल हुनुभयो,’ उनले भने ।

अदालती निर्णयपछि ७ महिनामा न्याय पाएका उनले अवधिमा ११ पटक अदालतमा बयान लिइएको बताए । ‘११ पटक बयान लिइयो, तर ममाथि लागेको आरोप स्वीकार गरिनँ । मैले गल्ती नै गरेको छैन, किन स्वीकार्ने ?’ उनले भने, ‘आरोप पुष्टि नभएपछि यही मार्च ४ मा जेलमुक्त भएको हुँ । तर गल्ती नै नगर्दा पनि ७ महिना जेल बस्नुपर्दा दु:ख लागेको छ ।’

कमलले सुंगाईबुलोस्थित जेलमा वकिल र कानुनी उपचारको अभावमा कयौं नेपालीहरुको दिन बितिरहेको बताए ।

‘मैले त्यहाँ झण्डै २०/२२ जना नेपालीलाई भेटें । उनीहरुमध्ये एकजना बलात्कारको र अर्को एकजना नेपालीलाई नै हत्या गरेको अभियोगमा जेल परेका रहेछन् । निर्दोष छु भन्छन्,’ कमलले भने, ‘जेलमा हुनेमध्ये धेरैजसो वकिलकै अभावमा त्यत्तिकै जेलमा लामो समय बस्न बाध्य छन् । कतिपय मजस्तै निर्दोष छन् होला ।’

क्वालालम्पुरस्थित नेपाली दूतावासका अधिकारीहरु आफूहरुलाई भेट्न नआएका गुनासो जेलसजाय सकेर फर्कने नेपालीहरुले गर्ने गरेका छन् । तर दूतावासले भने कानुनी सेवाका लागि १ वर्षे करार सेवामा वकिल नियुक्तको व्यवस्था गर्न गतवर्ष डिसेम्बर ३१ देखि गत यसैवर्ष फेब्रुवरी १५ सम्ममा आवेदन खुला गरिएकाले प्रक्रियामा रहेको जनाएको छ ।

 

 

प्रकाशित: फाल्गुन २६, २०७२

 



http://bit.ly/1p6Xj01