NST 08:42:51am Sat, Oct, 21, 2017

हाउसमेडको भिसा जारी नगर्न कुबेतलाई आग्रह

दुई देशबीच द्विपक्षीय सम्झौता नभएसम्म घरेलु कामदार -हाउसमेड) को भिसा जारी नगर्न नेपालले कुबेतलाई आग्रह गरेको छ। कामदार पठाउने र ल्याउने १७ देशका प्रधिनिधिहरूबीच छलफल गर्न आयोजित 'आबुधाबी बहस' मा भाग लिन कुबेत पुगेका श्रममन्त्री टेकबहादुर गुरुङले त्यहाँका श्रममन्त्री हिन्दसुबाई बाराक अल सुबाईसँग भेट गर्दै यस्तो आग्रह गरेका हुन्।

'घरेलु कामदारका लागि दुई देशबीच विशेष सम्झौता आवश्यक परेको छ। द्विपक्षीय सम्झौता नभएसम्म नेपालीको लागि हाउसमेडको भिसा जारी नगर्न अनुरोध गर्दछु,' उनले समकक्षी सुबाईसँग भने।

सरकारले कुबेतमा अलपत्र परेका हाउसमेडको उद्धार गर्न नसकेको, दलालको सिकारमा परेर मानव तस्कर संस्थागत रूपमा हुन थालेको र महिला कामदारको शोषण निकै बढेपछि गत वैशाखबाट हाउसमेडको लागि श्रम स्वीकृति दिन रोकेको छ।

मन्त्री गुरुङले कुबेतको माथिल्लो निकायमा हाउसमेड रोक्नुको कारणबारे जानकारी दिँदै अहिलेलाई भिसा जारी नगर्न अनुरोध गरेका थिए। सरकारले श्रम स्वीकृतिमा रोक लगाए पनि दलालले भारतीय बाटो प्रयोग गरी कुबेतमा अझै हाउसमेड लगिरहेका छन्।

समकक्षी सुवाईले भिसा जारी गर्न रोक्ने अधिकार आफ्नो मन्त्रालयको नभएको बताउँदै सम्बन्धित मन्त्रालयलाई यसबारे जानकारी दिने बताइन्। 'नेपाली पक्षले राखेको यो विषय र चासो सम्बन्धित मन्त्रालयमा जानकारी दिनेछु,' उनले भने।

मन्त्री गुरुङले नेपाली कामदारको बाहुल्य रहेका साउदी, यूएई र कतारका मन्त्रीहरूसँग नेपालीको कामदारको सुरक्षा र अवस्थाको विषयमा छुट्टाछुट्टै छलफल गरेको कुबेतस्थित नेपाली दूतावासले जनाएको छ।

दुई दिनसम्म चलेको आबुधाबी बहसले कामदारको हितको लागि भन्दै घोषणापत्र समेत सार्वजनिक गरेको छ। त्यस बैठकमा विशेष गरी कामदारको सुरक्षा र अधिकार, उनीहरूको क्षमता अभिवृद्धि, म्यानपावर कम्पनीबाट हुने ठगीलगायत विषयमा छलफल गरेको कुबेतका लागि कार्यबाहक राजदूत विशाल भट्टराईले बताए। मन्त्रीस्तरीय यस बैठले ७ बुँदे घोषणापत्र जारी गरेको छ।

त्यस्तै श्रममन्त्री गुरुङले कुबेतमा रहेका नेपाली सुमदायसँग कामदारको अवस्थाको विषयमा जानकारी लिएका थिए। समुदायका प्रतिनिधिले श्रम मन्त्रालयले हाउसमेड खोल्ने निर्णय गर्दा आर्थिक प्रभावमा परेको भन्दै चर्को आलोचना गरेका थिए। उनीहरूले हाउसमेडको अवस्था निकै दयनीय रहेको र दूतावासले चाहेर मात्रै केही गर्न नसकिने स्थिति रहेको भन्दै हाउसमेड खोल्न नहुने पक्षमा सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए।

Published on: ekantipur.com/nepali