NST 08:33:31am Thu, Aug, 24, 2017

‘देश छाड्नु अगाडिनै आर्थिक शोषणमा’

ब्रिटेनको एक प्रतिष्ठित संस्थाले पश्चिम नेपालका गाउँहरुमा पुगेर गरेको अनुसन्धानका अनुसार कतिपय नेपाली कामदारहरु उनीहरुको वर्षभरीको खर्च बराबरको रकम ऋण लिएर दलालहरुलाई दिएपछिमात्र विदेश जान पाउँछन्।

यो स्थितिलाई कतैबाट नियन्त्रण नगरिएको प्रतिवेदनमा उल्लेख छ।

‘सीमान्त क्षेत्रबाट आप्रवास’ शीर्षकमा ब्रिटेनस्थित अनुसन्धान संस्था ओभरसीज डेभलपमेन्ट इन्स्टिच्युट (ओडिआई) ले हिजो प्रकाशित गरेको उक्त प्रतिवेदनमा नेपाली कामदारहरुले विदेशमा पुगेपछि मात्र नभई देशभित्रैपनि शोषणको शिकार हुनुपरेको भन्दै उनीहरुको विविध समस्या प्रस्तुत गरिएको छ।

दलाल

पश्चिम नेपालको रोल्पा जिल्लामा गरिएको अनुसन्धानबाट त्यहाँ एकजनाले वर्षभर खाना बसाई शिक्षा र स्वास्थमा गर्ने खर्च करीब एक लाख चानचुन रकम दलाललाई दिनुपर्ने अवस्था रहेको देखाउँछ।

विदेशमा काम गर्न जानका निम्ति त्योसहित करीब अढाई लाखसम्म खर्च हुन सक्ने र त्यत्रो रकम विपन्न परिवारकाले बेहोर्न नसक्ने प्रतिवेदनमा उल्लेख छ। पछिल्ला महिनाहरुमा खासगरी खाडी देश कतारमा विशेष गरि घरेलु कामदारका रुपमा जानेहरुलाई झुठा वाचाहरु गरेर बताइएको भन्दा अर्कै काममा लगाइने, समयमा तलब नदिने वा दिँदै नदिने वा अझ कट्टि गरिदिने, राहदानी कब्जामा लिनेजस्ता गम्भीर ज्यादतीहरु व्यापक र प्रणालीगत रुपमा हुने गरेकोअन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टि इन्टरनेशनलको रिपोर्टले जनाएको थियो।

ओडिआईको रिपोर्टले त्यस्ता ज्यादती नेपाली कामदारले आफ्नो देश नछाड्दै भोग्न शुरु हुने गरेको देखाउँछ।

दलालहरुले ठग्ने शैलीबारे सो रिपोर्टकी मूल लेखक जेसिका ह्यागन जाँकरले बीबीसीलाई भनिन्, “जसरी भएपनि वैदेशिक रोजगारमा जान चाहने हुँदा कामदारहरुलाई एकदमै शोषण गरिन्छ।"

उनले भनिन् – “एउटा राम्रो जागिरका लागि उनीहरुसंग दलाललाई भनेजत्ति रकम दिनुको विकल्प हुँदैन।”

“भीजा टिकट र कामको निम्ति उनीहरु ती एजेन्टकै भर पर्छन्। उनीहरुलाई यस्ता नियम र लाग्ने शुल्कबारे जानकारी हुँदैन। जति भन्यो त्यति तिर्छन्। उदाहरणका लागि रोल्पाका एक जनाले हामीलाई के भने भने उनलाई २० हजार पर्ने टिकट ८० हजारमा भिडाइएको रहेछ।”

‘खाडल’

कतिपय अवस्थामा कामदारहरुले दलालहरुलाई पैसा बुझाइसकेपछि पनि उनीहरुलाई कहिले कहाँ र कस्तो कामका लागि लगिंदैछ भन्ने जानकारी नदिइने प्रतिवेदनले औंल्याएको छ।

त्यस्ता महत्वपूर्ण जानकारीहरु कैयौंलाई उनीहरु उड्नु २४ घण्टा अघिमात्र दिइन्छ।

कतिपयलाई श्रमिकहरूले बुझ्दै नबुझ्ने अंग्रेजी भाषामा लेखिएका करार पत्र दिइन्छ जसको भरमा हतार हतार विदेश उड्दा नसोचेको शोषणको खाडलमा जाकिने वाध्यता रहन्छ।

विदेशमा दुखजिलो गरेर काम गर्ने नेपालीहरुले पठाउने रेमिटेन्स रकमले नेपालको कूल अर्थतन्त्रको एक चौथाइ हिस्सा ओगट्छ। दैनिक १५ सय भन्दा धेरै नेपाली युवाहरु विदेशिन्छन्। ती मध्ये झण्डै आधी खाडी देशहरुमा जाने गर्छन्।

केही समय अगाडीको आँकडा अनुसार पश्चिम नेपालको रोल्पा जिल्लामा मात्र दश प्रतिशत युवाहरु कामका लागि विदेशिएका छन्।

 

Source:- bbc.co.uk/nepali

विदेशमा काम गर्न जानका निम्ति त्योसहित करीब अढाई लाखसम्म खर्च हुन सक्ने र त्यत्रो रकम विपन्न परिवारकाले बेहोर्न नसक्ने प्रतिवेदनमा उल्लेख छ।
पछिल्ला महिनाहरुमा खासगरी खाडी देश कतारमा विशेष गरि घरेलु कामदारका रुपमा जानेहरुलाई झुठा वाचाहरु गरेर बताइएको भन्दा अर्कै काममा लगाइने, समयमा तलब नदिने वा दिँदै नदिने वा अझ कट्टि गरिदिने, राहदानी कब्जामा लिनेजस्ता गम्भीर ज्यादतीहरु व्यापक र प्रणालीगत रुपमा हुने गरेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टि इन्टरनेशनलको रिपोर्टले जनाएको थियो।

Help Needy Children

Save Bhusal Campaign

Location Map


View Larger Map
See All       Previous         Next