+977-1- 4480858
NST
Latest News
See All       Previous         Next

मलेसियामा अलपत्र ८५ नेपालीको उद्धार

कार्यरत कम्पनीको मालिक भागेपछि मलेसियामा अलपत्र परेका ८५ जना नेपाली कामदारको उद्धार गरिएको छ । कम्पनीको मालिक पासपोर्ट लिएर भागेपछि महिना दिनअघिदेखि मलेसियामा अलपत्र बनेका ८९ नेपालीमध्ये ८५ जनाको उद्धार गरिएको खोटाङस्थित सुरक्षित आप्रवासन परियोजना (सामी)ले जानकारी दिएको छ ।

परियोजनाका कार्यक्रम संयोजक नबिन्द्र राईका अनुसार शनिबार ३० जना र आइतबार ५५ जना नेपालीको उद्धार गरि नेपाल फर्काइएको छ । अलपत्र अवस्थाबाट उद्धार गरिएकाहरु खोटाङ, ओखलढुङ्गा, भोजपुर, सिराहा, संखुवासभा, इलाम, रौतहट, सर्लाही, बारा, पर्सा, महोत्तरी, धनुसा, मकवानपुर लगायतका जिल्लाका छन् ।

उद्धार गरेर नेपाल फर्काइएकामध्ये १८ जनालाई अहिले प्रवासी नेपाली समन्वय समितिको काठमाडौंस्थित उद्धार केन्द्रमा राखिएको छ । ‘केही युवाहरु आफन्तको सम्पर्कमा गइसकेका छन्,’ उद्धार केन्द्रस्थित समितिका सिता पन्तले भन्नुभयो, ‘उद्धार केन्द्रमा रहेकालाई पनि आफन्तको जिम्मा लगाउने तयारी गरिरहेका छौं ।’ - 

पासपोर्टसहितका सबै कागजात लिएर मालिक भागेपछि सेरमान भन्ने ठाउँको सुमसाङ कम्पनीमा कार्यरत नेपाली अलपत्र परेका थिए । अधिकांश युवा घरबाट पठाइएको खर्चबाट स्वदेश फर्किएको खोटाङको बाम्राङ–८ का पीडित यादव थापाले बताउनुभयो ।

‘धन कमाउने आशामा विदेश पुगिया,’ थापाले भन्नुभयो, ‘तर उल्टै ज्यान फर्काउनै गाह्रो भयो ।’ अलपत्र परेको खबर पाएका आफन्तले सदरमुकाम दिक्तेलस्थित परियोजनाको कार्यालयमा दिएको उजुरीका आधारमा उनीहरुको उद्धारको पहल गरिएको पन्तले बताउनुभयो ।

प्राप्त निबेदनका आधारमा नाता प्रमाणित गर्ने कागजात पठाएपछि उनीहरुलाई स्वदेश फर्काइएको हो । अलपत्र परेका उनीहरुलाई प्रवासी नेपाली समन्वय समिति मलेसियाका रामचन्द्र नेपालको सहयोगमा स्थानीय चर्चमा राखिएको थियो ।

दुई हप्तासम्म चर्चमा बसेका उनीहरु घरबाट पठाइएको खर्चमा प्लेन टिकट काटेर नेपाल फर्किएका हुन् । परियोजनाका अनुसार अलपत्र परेकामध्ये अझै ४ जनालाई मलेसियास्थित स्थानीय चर्चमा राखिएको छ । उनीहरुको पनि उद्धारको पहल भइरहेको संयोजक राईले बताउनुभयो ।

Published: ujyaaloonline.com

http://ujyaaloonline.com/desh-paradesh/desh-paradesh-news/30942/Khotang/