+977-1- 4480858
NST
Latest News
See All       Previous         Next

मलायामा सुतेको सुत्यै बित्नेहरू:

क्वालालम्पुर (मलेसिया), चैत्र १२ - साथीभाइसँग गफिँदै सुतेका लोकप्रसाद राई बुधबार बिहान हातले मोबाइल फोन समातेकै अवस्थामा मृत भेटिए । स्थानीय अस्पतालले पोस्टमार्टम प्रतिवेदनमा हृदयाघातले मृत्यु भएको उल्लेख गर्‍यो ।

झापा तोपगाछीका ३५ वर्षीय उनी यसरी निद्रामै मृत्युवरण गर्ने एक्ला नेपाली कामदार होइनन् । राति सुत्दासम्म हाँसीखुसी देखिए पनि बिहान संसार नदेख्नेहरू सातामा तीन जनासम्म पुग्छन् । यो दक्षिणपूर्वी मुलुकमा करिब ७ लाख नेपाली श्रमिक छन् । पछिल्लो एक दशकमा करिब अढाई हजार नेपालीले यहाँ ज्यान गुमाइसकेका छन् ।

'राईजी जस्तै सुतेको सुत्यै हुने घटना बरोबर भइरहन्छन्,' टेकबहादुर राना भन्छन्, 'हामीलाई लास नेपाल पठाउन नै डेढ लाख रुपैयाँको जोहो गर्नुपर्छ ।'

'यो अस्वाभाविक मृत्यु हो, केही यस्तै प्रकृतिको मृत्युको कारण हृदयाघात हुन सक्छ । तर सबैमा यो कारण भने हुन्न,' स्थानीय अस्पतालमा डाक्टर रहेका भारतीय मूलका एक मलेसियालीले भने, 'तपाईंको सरकारले यस्ता मृत्युहरूको कारण पहिल्याउन हाम्रो सरकारसँग अनुरोध गर्नुपर्छ ।'

उनी 'सडन अन-एक्सपेक्टेड डेथ सिन्ड्रोम' (एक्कासि अप्रत्यासित मृत्युको लक्षण) धेरैजसो कामदारमा देखिने, त्यसमा बढी नेपाली पर्नुको कारणमाथि चिकित्सकीय खोजी आवश्यक रहेको बताउँछन् । विश्वव्यापी रूपमा खासगरी शिशुहरूको मात्रै यस्तो मृत्यु हुने गरेको पाइन्छ । क्वालालम्पुरमा ८० जनासम्म कामदार एउटै कोठामा सुत्छन् । थुनिएको कोठामा न हावा आउजाउ हुन्छ, न एयरकन्डिसनकै व्यवस्था । त्यसमाथि तीव्र गर्मी । अझ चोर आउने समस्याले जति गुम्से पनि ढोका खोल्न मन नलाग्ने नेपाली व्यवसायी सुन्दर आलेको अनुभव छ ।

उनका अनुसार हृदयाघातलगायत प्राकृतिक कारण देखाउँदासमेत मजदुरले बिमा रकम पाउँदैनन् ।

'राति हाँसिखेलेको साथी बिहान ओछ्यानमै बितिसकेको हुन्छ, सँगै सुतेकालाई पत्तो हुँदैन,' आले भन्छन्, 'यसरी मर्नेहरूमा मधेसका भन्दा पहाडतिरकै नेपालीहरू बढी हुन्छन् ।' ती स्थानीय चिकित्सक निद्रावस्थामा कोठामा साह्रै गुम्सिएरसमेत मृत्यु भएको हुन सक्नेतिर विज्ञहरूको अध्ययन आवश्यक रहेको बताउँछन् ।

'स्लिप एप्निया (श्वासावरोध) ले समेत एक्कासि मृत्यु हुन सक्छ,' ती चिकित्सकले भने, 'सुत्ने बेलामा हुने श्वासप्रश्वासको अप्ठ्यारोले एक्कासि मुटुको समस्या आएर मृत्यु हुन सक्ने अध्ययनहरूले देखाउँछन् ।'

कामदारहरू परिवारभन्दा टाढा हुनु, मानसिक स्वास्थ्य, खानपान, फरक वातावरण, कामको प्रकृति, विभिन्न रसायनिकलगायत जोखिम आदि पनि अध्ययनको विषय भएको उनले

बताए । गुम्सिएर मृत्यु हुँदा अनुहारमा केही भाव वा लक्षण प्रस्तुत हुनुपर्ने स्वास्थ्य प्रणाली अध्ययनका लागि दोस्रोपल्ट मलेसिया पुगेका चिकित्सक डा. सुवास प्याकुरेल बताउँछन् । 'सफोकेसन (गुम्सिनु) एउटा कारण हुन सक्छ,' उनी भन्छन्, 'सुतेको सुत्यै हुने कार्बन मोनोक्साइड विषाक्ततासमेत हो । तर आगो नबालिने ठाउँमा कसरी त्यो सम्भव ?'

खाडी राष्ट्रमा हुने यस्तै खाले मृत्युको कारण 'स्ट्रोक' (हृदयाघात) भए पनि मलेसियाको २२ देखि ३२ डिग्री तापक्रममा त्यस्तो खतरा खासै नभएको डा. प्याकुरेलको दाबी छ । 'अत्यधिक कामको बोझबाट शरीरमा इलेक्ट्रोलाइट (लवण) को असन्तुलन हुन्छ,' उनी भन्छन्, 'यसले मुटुको चाल अस्वाभाविक भएर मृत्यु हुन सक्छ ।' नेपाली प्रवासी सेवा समूहका उपाध्यक्ष विन्दकिशोर साहसमेत यस तर्कसँग सहमत छन् । पेनाङ बस्ने साह भन्छन्, 'अत्यधिक कामको बोझले समेत यस्तो मृत्यु हुने हामीलाई लाग्छ ।' उनले रक्सी खाएर सुत्नु, पारिवारिक तनाव एक्कासि मृत्युको कारण हो भन्ने लख काटे ।

'सडन अन-एक्सप्लेन्ड नोक्चुरनल डेथ सिन्ड्रोम (एक्कासि हुने रात्रिकालीन अपरिभाषित मृत्यु) पनि कारण हुन सक्छ,' डा. प्याकुरेल भन्छन् । उनका अनुसार यसको कारण पत्ता लाग्न सकेको छैन । खासगरी यस्तो मृत्यु एसियालीहरूमा देखिने गरेको छ । एसियालीमध्ये पनि शरणार्थी, प्रवासी, प्रवासी मजदुर लगायतले यसरी ज्यान गुमाउने अध्ययनहरूले देखाएको उनी बताउँछन् । 'अधिकांश हृदयाघातमा हुने पीडाको भाव लासमा देखिँदैन, समूहमा सुत्ने अन्य साथीले समेत चाल पाउँदैनन्,' क्वालालम्पुरका अर्का एक चिकित्सक भन्छन्, 'धेरैजसो कामदारको मृत्युको कारण हृदयाघात लेखिन्छ, यो सही होइन ।'

प्रवासी नेपाली कामदारलाई विदेश जानुअघि अनिवार्य 'कार्डिक पल्मोनरी रेसिटेसन' (कृत्रिम श्वासप्रश्वास र मुटु चलाउने प्रक्रिया) र प्राथमिक उपचार तालिम दिँदा उनीहरूले आफ्नो छेउछाउका करिब १५ प्रतिशत साथीको ज्यान जोगाउन सक्ने डा. प्याकुरेलको दाबी छ ।

प्रकाशित: २०७० चैत्र १२  कान्तिपुर दैनिक

http://www.ekantipur.com/np/2070/12/12/full-story/386297.html