NST 12:18:20pm Thu, Aug, 24, 2017

३३ सयभन्दा बढी आप्रवासी कामदार पक्राउ

क्वालालम्पुर, माघ ९ - मलेसियाले गत सोमबार मध्यरातदेखि थालेको धरपकडमा परी बुधबारसम्म ३ हजार ३ सय २२ जना गैरकानुनी आप्रवासी कामदार पक्राउ परिसकेका छन् । उनीहरु मलेसियाका क्वालालम्पुर, मलक्का, जोहोर, पेनांङ र सेलांगरका विभिन्न स्थानबाट बुधबार अवेरसम्म सो संख्यामा आप्रवासी कामदार पक्राउ परेका स्थानीय संचारमाध्यमले जनाएका छन् ।

तर पक्राउ परेका नेपालीको संख्या भने अझै अज्ञात छ । यसबारे यकिन जानकारी पाउन सकिएको छैन । पक्राउ परेकाहरुलाई घरफिर्ती केन्द्रहरुमा राखिएको छ । मलेसियाले पक्राउ पर्नेमध्ये आपराधिक मुद्दासँग जोडिएका आप्रवासी कामदार भेटिएमा प्रहरीलाई जिम्मा लगाउने भएको छ । यहाँस्थित नेपाली दुतावासले पक्राउ परेका नेपालीको संख्याबारे यकिन जानकारी सम्बन्धित निकायसाग मागिएको भएपनि अझैसम्म जवाफ नपाएको जनाएको छ ।

धरपकड थालिनुअघि भन्दा पछिल्ला दिनमा दुतावास आउने घटेका छन् । दुतावासले गैरकानुनी हैसियतमा रहेका नेपालीलाई यात्राअनुमति पत्र वितरण कार्य प्राथमिकतामा राखिएको राजदुत डा. निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिए ।  'यतिखेर सकभर धेरै नेपाली पक्राउ नपरुन् भनेर उनीहरुलाई जोगाउनका लागि हामीले यात्राअनुमति जारी गर्ने कार्यलाई प्राथकिता दिएका छौं', उनले भने ।

मलेसियाले घरफिर्ती हवाइटिकट र यात्रा अनुमति पत्र हुनेलाई पक्राउ नगरिने यसअघि नै जनाइसकेको छ ।  उसले पक्राउ परेकालाई एक हप्ताभित्रै सम्बन्धित मुलुक फर्काइने  जनाउ दिएपनि धरपकड थालेको बिहीबार तेश्रो दिन भइसक्दासमेत यसबारे कुनै जानकारी दुतावासलाई  दिएको छैन । यसअघि दुतवासले गैरकानुनी कामदार स्वदेश फर्काउन अध्यागमन विभागको सहकार्यमा प्रत्येक हप्ता ८० जना नेपाली घर फर्काउंदै आएको थियो ।

त्यस्तो प्रक्रियामार्फत घर र्फकने पर्खाइमा अझै २ हजारभन्दा बढी नेपाली रहेको जनाइएको छ । धरपकड थालिएपछि अहिले उक्त प्रक्रिया पनि रोकीएको छ । हाल पक्राउ परेका नेपालीले घर र्फकनुअघि मलेसियालाई जरिवाना रकम तिर्नुपर्ने हुन्छ भने घरफिर्ती टिकट पनि स्वयं कामदार आफैंले किन्नुपर्ने हुन्छ । उक्त जरिवाना रकम कति तिर्नुपर्छ भन्ने समेत केही बताइएको छैन ।

यता चिनिया नयाँबर्षको मुखैमा धरपकडले व्यापारमा असर पारेको भन्दै मलेसियाली चिनियाँ संघले धरपकड केही समयपछि सार्न सरकारलाई अनुरोध गरेको छ । करिब १ हप्तापछि चिनियाँ नयाँ बर्ष परेको छ । तर सरकारका तर्फबाट यसबारे कुनैपनि प्रतिक्रिया आएको छैन । धरपकडमा परी पक्राउ पर्नेमध्ये सबैभन्दा बढी मलेसियाकै छिमेकी मुलुक इण्डोनेसियाली छन् भने बंगलादेशी दोश्रोमा छन् ।

पुनः मलेसिया प्रवेशमा रोक

यसैबीच पक्राउ गरि फर्काइएका आप्रवासी कामदार पुनः मलेसिया प्रवेश हुन पाउनेछैनन् । मलेसियाले  घर फर्काइनुअघि शारिरीक वा बायोमेट्रीक रकर्ड लिई त्यस्ता आप्रवासीलाई कालोसूचीमा सूचीकृत गरी पुनः मलेसिया आउन नदिने जनाएको छ । यदि त्यसो गरिएमा अहिले पक्राउ परि फर्काइने ठूलो संख्यामा रहेका सबै कामदार पुनः मलेसिया आउनबाट बञ्चित हुनेछन् । विदेशी कामदार घटाउन र स्थानीय कामदारका लागि रोजगारी बढाउन मलेसियाले गैरकानुनी कामदारलाई निशाना बनाएको हो । उसले गैरकानुनी कामदार हटाएर क्रमशः बैधानिक कामदार पनि घटाउन विभिन्न नीति अख्तियार गर्दै आएको छ ।

त्यतिमात्र होइन यसैबर्षभित्र सबै बैधानिक कामदारका लागि डिजिटल परिचयपत्रको व्यवस्था गर्नेसमेत जनाइएको छ ।

त्यस्तो परिचयपत्रमा कामदारको नाम, पेशा, रोजगारदाता कम्पनीको नाम लगायत यथेष्ट जानकारी समावेश हुनेछ । विदेशी कामदारले कुनै आपराधिक काम गरेमा उसको सही पहिचान पत्ता लगाउन सहज हुने हुंदा उसले आफुकहां भएका बैधानिक आप्रवासी कामदारलाई समेत सही व्यवस्थापन गर्न त्यस्तो तयारी थालेको हो । मलेसियामा हाल करिब २३ लाख आप्रवासी कामदार बैधानिक  रुपमा कार्यरत छन् । तीमध्ये करिब ५ लाख नेपाली रहेका अनुमान छ ।

(source : ekantipur.com/np)

Help Needy Children

Save Bhusal Campaign

Location Map


View Larger Map
See All       Previous         Next