NST 02:46:59pm Fri, Oct, 20, 2017

गोवावाट ल्याइएको शव प्रहरी ट्रकमा दाङ लगियो

देवेन्द्र भट्टराई, दिनेश रेग्मी 

दिल्ली/काठमाडौ, माघ ३ - वैदेशिक रोजगारमा गएका कामदारबाट उठाइएको सेवाशुल्कको कल्याणकारी कोष अर्बौ रुपैंयाको भएपनि यही कोष रुागेर बसेको निकायमा एउटै शव-वाहन समेत छैन भन्ने सुन्नुपर्दा कस्तो अनुभव हुन्छ ?

यस्तै 'हविगत' देख्नुपर्यो बिहिबार त्रिभुवन विमानस्थलमा । भारतको गोवा राज्यमा एउटा निर्माणाधिन भवन भत्किएर ज्यान गुमाएका ५ नेपाली कामदारको शव रितअनुसार '१३ दिने काम' सम्पन्न गर्ने दिनमा विहीवार काठमाडौं ल्याइयो, तर बैदेशिक रोजगार प्रबर्द्धन बोर्डमा शव-बाहन नहुनाले प्रहरी मुख्यालय, सवारी महाशाखाले दिएको ट्रकमा शव बोकाएर घरगाउँमा लगिंदै गरेको दृष्य आँखैसामु देखियो । गोवा-दिल्ली हुँदै 'ट्रान्जिट' बसाइको १५ घण्टापछि काठमाडौं ल्याइएका यी शवहरु प्रहरीको ट्रकमा मृतकको दाङस्थित घरआँगनमा शुक्रबार बिहान पुग्दैछन् । पाँचैवटा शव लिएर एयर एन्डियाको उडानबाट मृतक ताराबहादुर खड्काका भाई गुरुप्रसाद काठमाडौं आएका हुन् ।

यी शवहरु ल्याउन नेपालसम्मको हवाई टीकट गोवा राज्य सरकारले उपलब्ध गराएको थियो । पुस २० गते शनिबार अपरान्हको घटनामा निर्माणधिन भवनभित्र सुतिरहेका दाङ, गोल्टाकुरी-८ का ३३ वर्षीय ताराबहादुर खड्का, गोल्टाकुरी-७ का ४४ वर्षीय दीपक (उपेन्द्र) बहादुर वली, फूलबारी-३ का २८ वर्षीय डम्बर नेपाली र गोल्टाकुरी-६ का २२ वर्षीय सिताराम बिक तथा २६ वर्षीय दीपक बिकको ज्यान गएको थियो ।

सरकारले भारतमा रोजगारीमा आएका नेपालीलाई 'श्रमिक मान्यता' नदिएको कारण कामदार हकहितमा स्थापित सरकारी निकाय बोर्डले पनि गोवामा ज्यान गुमाएका नेपालीलाई घरसम्म लैजान शव-बाहन खोज्ने तदारुकता नदेखाएको हो । 'भारतबाहेक अरु मुलुकमा कामदारको मृत्यु भएको भए र काठमाडौंमा शव-बाहन चाहिने भए भाडामा लिन सकिन्थ्यो,' बोर्डका अधिकारीले भने-' भारतमा मरेको मजदुरका लागि हामीसाग हुादै नभएको शव-बाहन कताबाट खोज्ने ?'

श्रम मन्त्रालय अन्तर्गतको बोर्डले कल्याणकारी कोषमा रकम तिरेका कामदारको कुनै मुलुकमा मृत्यु भएमा र निजको शबलाई काठमाडौंबाट घरसम्म पुर्याउनुपर्ने भएमा 'भाडाको शवबाहन' खोज्ने गरेको छ । विदेश जाने हरेक कामदारले श्रम स्वीकृति लिनुअघि १ हजार रुपैयाका दरले तिरेको रकमबाट अहिलेसम्म कल्याणकारी कोषमा २ अर्ब रुपैया भन्दा बढी रकम संकलन भईसकेको छ ।

वैदेशिक रोजगारीमा गएकामध्ये औसतमा दैनिक ३ कामदारको विदेशमा मृत्यु हुने गरेको तथ्याङ्क छ ।

बोर्डले शबवाहनको आवश्यकता भएपनि आफ्नो भन्दा भाडामा लिएर सेवा दिन सजिलो हुने भएकोले किन्न नचाहेको तर्क राखेको छ । 'शव-वाहन किन्नुपर्छ भनेर पहिल्यै कुरा उठेको हो तर चालकको तलब, मर्मत सम्हारको खर्च तुलना गर्दा भाडामै काम चलाउन सजिलो भएको छ',बोर्डका निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले भनिन्-'फेरि एउटा शब बाहनले पनि पुग्दैन, कतिवटा किनिरहने भन्ने पनि समस्या हुन्छ ।'

बोर्डको २०६९/०७० मा आर्थिक सहायता उपलब्ध गराएको रेकड अनुसार एक वर्षमा विदेशमा ७ सय २६ कामदारको मृत्यु भएको थियो । श्रम स्वीकृत नलिई जाने र भारतमा काम गर्ने कामदारलाई बोर्ड र अरु निकायले पनि हेर्ने गरेका छैनन् । रोजगारीको रुपमा भारत जाने कामदारलाई सरकारले वैदेशिक रोजगार नीति र ऐनभित्र समेत समेटेको छैन । सरकारले रोजगार निती बनाउँदा तथा रेमिट्यान्स सूचांक देखाउँदा सँधै 'भारतबाहेक' भन्ने गर्दै आएको छ .

चारैतिर 'समन्वय अभाव'

सरकारी निकायहरुवीच समन्वयको अभावमा भारतबाटै नेपालमा शब घरसम्म आई पुग्न परिवारले दुई साता कुर्नुपरेको छ । मृतकको बस्तुस्थिती पहिचानको ५ दिनपछि दिल्लीस्थित दुतावासले समन्वय पहल थालेपनि परराष्ट्र, गृह र श्रम मन्त्रालयसम्बद्ध पदाधिकारीहरुको 'कामचलाउ कार्यशैली'का कारण शवहरु गोवाको मठगाउा अस्पतालमैं थन्किएका थिए ।

शव फिर्ता लैजाने प्रकृयामा दिल्ली दुतावासले भारतीय विदेश मन्त्रालयलाई पत्र पठाएर गोवा राज्य सरकारसमक्ष आग्रह गरेको थियो । तर दाङ लैजानुपर्ने शवहरु लखनउ-रुपडिया हुादै गन्तव्यमा पुर्याइने वा गोवा-दिल्ली-काठमाडौं लैजाने भन्ने बिषयमा अलमल रहिरहादा पनि कतैबाट समन्वय जुट्न सकेन ।

दिल्ली हुँदै काठमाडौं शव लैजाने टुङ्गो भएपछि दुतावासले गत मंगलबार शव-बाहन उपलब्ध गराइमागेर परराष्ट्र मन्त्रालय र बैदेशिक रोजगार प्रबर्द्धन बोर्डलाई पत्र पठाएको थियो तर, त्यसमा कुनै 'सुनुवाइ' हुन सकेन ।

तत्कालै गोवा अध्यागमन र एयर इन्डिया हवाइसेवाको व्यवस्थापनले 'एक व्यक्ति -गुरुप्रसाद)को जिम्मामा ५ वटा शव नेपाल लैजान नमिल्ने' भन्दै काठमाडौंबाट यसका लागि 'एयरपोर्ट क्लियरेन्स' मगाएको थियो । यसबारे पनि सरकारी निकायबाट कुनै सुनुवाइ नभएपछि मंगलबार राती १० बजे दुतावासका काउन्सेलर तिर्थराज वाग्लेले 'पााचवटै शव एकजना आफन्त गुरुप्रसादको जिम्मामा नेपाल पठाएमा आपत्ती नरहने' भन्दै स्वीकृती पठाइदिएका थिए ।

'शब पहिल्यै आउने थियो तर सरकारी प्रकृया र समन्वय नमिलेर भेरै ढिला भयो',शब लिएर राजधानी उत्रेपछि गुरुप्रसादले कान्तिपुरलाई भने-'मृतकका सबै घरपरिवारले शव ल्याउन किन ढिलो भयो भनेर रातदिन फोन गरेको गर्यै गर्थे, मसाग जवाफै थिएन ।'

परिवारलाई आर्थिक सहयोग

पाँचै मृतकका परिवारलाई गोवा राज्य सरकारले दुई लाख भारुका दरले सहयोग दिने घोषणा गरेको छ । घोषणा भएपनि रकम भने पाइनसकेको मृतकका आफन्त गुरुप्रसादले बताए । 'गोवा सरकारले दिन्छु भनेको छ तर के-कहिले दिने हो, केही थाहा छैन',उनले भने ।

तत्काल खर्च चाहिने भएकाले मृतकका जनही परिवारलाई ५ हजार रुपैयाका दरले केयर नेपाल संस्थाले सहयोग गरेको छ । 'किरिया खर्चलाई तत्काल सानो सहयोग भए पनि पुग्दा भनेर ५ हजार रुपैयाका दरले दिएका हौं',गोवा मृतकको उद्धारमा काठमाडौंमा समन्वय काम गर्ने प्रवासी नेपाली समन्वय समितिकी कार्यक्रम संयोजक पार्वता अधिकारीले भनिन् ।

मृतकका परिवारले अन्यत्र कहि कतैबाट सहयोग पाएका छैनन् । वैदेशिक रोगगारमा जाँदा कामदारले अनिवार्य रुपमा ५ लाख रुपैयाको विमा र बोर्डबाट मृतक परिवारलाई डेड लाख रुपैया आर्थिक सहायता उपलब्ध गराउने नीति भएपनि भारत जाने कामदार यसमा समेटिएका छैनन् ।

बाँचेकाहरु घर फिरे

गोवामा ५ नेपाली चौकीदारको मृत्यु भएपछि संगै काम गर्ने एक जना घर फर्किएका छन् ।अर्का एक नेपाली त्यहाँबाट काम छाडेर अन्त्रय गएको गुरुप्रसादले बताए । रातीको ड्युटी सकेर सुतेका ५ नेपाली घटनामा परेका मृत्यु भएको थियो । दिनका काम गर्ने नेपालीमध्ये गोल्टाकुरी- ८ का सुवास केसी घर फर्किएका छन् । फुलवारी- ५ का वेदबहादुर बस्नेत 'गोवामा काम गर्दिन' भनेर अन्यत्रै गएका छन् । गुरुप्रसादका गोवामै काम गर्ने एक दाई पनि घर फर्किएका छन् ।

'मेरो दाई र सुवाससंगै घर फर्किए, बेदबहादुर अन्यत्र गए' गुरुप्रसादले भने-'अब म भारत फर्किए भने पनि गोवा जाँदिन होला ।' आर्थिक रुपले बिपन्न परिवारका छोराहरु गोवामा होटलमा काम गर्न अथवा चौकिदारीमा जाने गरेकाले अहिले मृत्यु बेहोर्नेहरु पनि दुइ बर्षयता परदेशिएका थिए । उनीहरु रातभर चौकिदारीको काम गरेर दिनमा निर्माणधिन भवनमा सुत्ने गर्थे । मासिक ६ हजार भारु तलबका भरमा उनीहरुले जीवन गुजारा गर्दै घरमा नूनतेल किन्ने थोरै पैसा पठाउने गरेका थिए ।

 

Source: (www.ekantipur.com/np)