+977-1- 4480858
NST
Latest News
See All       Previous         Next

सरकारले तोकेभन्दा तीन गुणा बढी सेवाशुल्क उठाएर म्यानपावर व्यवसायीले विदेश जाने कामदारबाट दैनिक एक करोडभन्दा बढी रकम ठगी गर्दै आएका छन्।

नेपालबाट प्रत्येक दिन कामदारका लागि बिदेसिनेको संख्या १ हजार छ। सरकारले प्रतिकामदार ५ हजार रुपैयाँ लिन पाउने तोकेको छ । व्यवसायीले भने १५ हजार रुपैयाँ उठाउँदै आएका छन्। यो हिसाबले म्यानपावर कम्पनीले प्रतिदिन एक करोड रुपैयाँभन्दा बढी रुपैयाँ ठग्दै आएको देखिन्छ।
सरकारले सेवाशुल्कबापत ५ हजार लिनुपर्ने नियम बनाए पनि व्यवसायीले सेवाशुल्क थोरै भएको र कम्पनीलाई घाटा हुने भन्दै १५ हजार लिँदै आएका छन्। उनीहरु भरपाई भने ५ हजारमात्र दिन्छन्। यसबाट विदेश जाने कामदार मात्र होइन, सरकारसमेत ठगिएको छ। व्यवसायीले सरकारलाई ५ हजार मात्र आम्दानी भएको देखाएर त्यसैअनुसारको कर तिर्दै आएका छन्।
कतार जान लागेका रौतहटका एक कामदारले एसओएस म्यानपावरमा आइतबार सेवाशुल्क १५ हजार तिरेको बताए। 'सेवाशुल्कबापत १५ हजार तिरें तर कम्पनीले ५ हजारको मात्र सेवाशुल्क उल्लेख गरेर भरपाई दिएको छ,' उनले भने।
मलेसिया दूतावासले विभिन्न शीर्षकमा शुल्क वृद्धि गरेको भन्दै आन्दोलनमा उत्रेका व्यवसायी आफैंले भने सरकारले तोकेको सीमाभन्दा १० हजार रुपैयाँ बढी रकम असुल्दै आएका छन्। सेवाशुल्क समयसान्दर्भिक नभएको भन्दै उनीहरुले लागत खर्च नबढाई सेवाशुल्क १५ हजार लिइरहेको दाबी गरेका छन्।
एसओएस म्यानपावरका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष सोमलाल बाटाजुले धेरै वर्षअघि बनाइएको ५ हजार सेवाशुल्कको नियम अहिले सान्दर्भिक नभएको बताए। 'सबै कम्पनीले १५ हजार लिइरहेका छन्, अब सेवाशुल्क १५ हजार नै बनाउनुपर्छ,' उनले भने, '५ हजारको सेवाशुल्कले त अफिस चलाउन पनि पुग्दैन, कर्मचारी र अन्य खर्च कसरी जुटाउने?'
सेवाशुल्कबापत कि ५ हजार कि पहिलो तलबको २५ प्रतिशत लिन पाउने नियम छ। तर सबै म्यानपावर कम्पनीले १५ हजारभन्दा कम सेवाशुल्क लिँदैनन्। केहीले १५ देखि ३० हजारसम्म सेवाशुल्क लिएर ७० हजार लागत लाग्ने मुलुकमा एक लाखसम्म लागत पुर्‍याउने गरेका छन्।
म्यानपावर कम्पनीले खुलमखुला सेवाशुल्कमार्फत बढी रकम असुलिरहे पनि सरकारले कुनै कारबाही र अनुगमनसमेत गरेको छैन। सेवाशुल्क बढी तिरेका कामदारले आफू ठगिएको विषयमा समेत वैदेशिक रोजगार विभागमा उजुरीसमेत गर्ने गरेको पाइँदैन। विभागमा विदेश जाने बेला दिएको रकम विदेश नपठाई फिर्ता नगरेको, विदेशमा पुगेपछि फरक कम्पनी र तलब भएको, थोरै लागत लाग्ने र फ्रि भिसा भएको मुलुकमा बढी रकम लिएको भन्दै उजुरी पर्ने गरेको छ। तर, १५ हजार तिरेर ५ हजारको भरपाई लिने कामदारले १० हजार ठगिँदासमेत उजुरी गर्ने गरेका छैनन्।
श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले व्यवसायीले सेवाशुल्कभन्दा पनि लागत बढी लिइरहेको बताए। 'लागत बढी लिने व्यवसायीलाई कारबाही हुन्छ, तर सोहीअनुसार उजुरी आउनुपर्छ,' उनले भने।
'लागत सीमाभित्र रहेर कति नाफा खान्छन्, त्यो प्राविधिक कुरा हो,' उनले भने। तर ठग्ने नै नियत भएर सेवाशुल्क पनि बढाउने लागत पनि बढाउने व्यवसायीलाई कारबाही गरिने उनले बताए। सेवाशुल्कलाई ५ हजारबाट १५ हजार बनाउने कुरामा पनि छलफल भइरहेको उनले बताए।
विभागका अनुसार चालु आवको मंसिरसम्म ५ सय ३२ म्यानपावर कम्पनीविरुद्ध ८ करोड ७२ लाख ६३ हजार दाबी रकमसहित उजुरी परेको छ। संस्थागत र व्यक्तिगत दुवै उजुरीमा समेत विभागले प्रभावकारी कारबाही गरेको छैन।
संघका अध्यक्ष बलबहादुर तामाङले सबै व्यवसायीले लागत नबढ्ने गरी सेवाशुल्क १५ हजार लिएको दाबी गरे। 'हामी अब सेवाशुल्क वैधानिक रुपमा नै १५ हजार पुर्‍याउन अनुरोध गर्छौ,' उनले भने। सिलिङ नबढ्ने गरी सेवाशुल्क लिँदा कामदारलाई असर नगर्ने उनले बताए । 

 

(Source: Nagarik Daily)